‘फोकल्यान्डको टापुको लडाइँबाट बचेर आएको तँ मन्त्री भएको देख्न रहेछ’

ByRocket Reporter

३ माघ २०७९, मंगलवार ०८:०२ ३ माघ २०७९, मंगलवार ०८:०२ ३ माघ २०७९, मंगलवार ०८:०२

नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती भुइँ तहबाट राज्यको उच्च निकायमा पुग्ने थोरै भोजपुरेमध्येका एक हुन्।

नेकपा (माओवादी केन्द्र)का नेता किराती पछिल्ला तीनवटा निर्वाचनमा लगातार भोजपुरबाटै विजयी भएका थिए। वि.सं. २०६४ को संविधा नसभा निर्वाचनमा २९ वर्षको उमेरमा नै संविधान सभा सदस्यमा निर्वाचित हुनु भएका किराती संविधान निर्माणमा सक्रिय सहभागी भए। प्रतिनिधि सभा सदस्य भए पनि नियमित भोजपुर पुग्ने र जनतासँग घुलमिल गर्ने उनकोस्वभावलाई धेरैले मन पराएका छन्।

माओवादी आन्दोलनका क्रममा नौ वर्ष भूमिगत भएका किराती जनशैली पछ्याउने थोरै नेतामध्ये एक हुन्। पूर्वेली लवजमा बोल्ने, जनताले जे खोज्छ त्यस्तै रूपमा प्रस्तुत हुने किरातीको स्वभाव आफैंमा अनुकरणीय रहेको माओवादीका नेता तथा कार्यकर्ताको टिप्पणी छ।

वि.सं. २०६१ बाट २०६३ सम्म २३ महिना बन्दी जीवन बिताएका किरातीले २०७४ र २०७९ मा पनि सोही जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।

हर्कबहादुर राई र माताको नाम रक्षाकुमारीको सुपुत्रका रुपमा विसं २०३५ फागुन २२ गते भोजपुरको ओख्रेमा जन्मेका हुन् किराती। वि.सं. २०४६ को जनआन्दोलनपछि विद्यार्थी आन्दोलनमा सहभागी भएर राजनीतिमा प्रवेश गरेका उनको शैक्षिक योग्यता भने विद्यालय तह बराबर छ।

मन्त्री बन्ने भएपछि उनले आज आफ्ना पिता हर्कबहादुरसँग गरेकाे भावनात्मक संवाद सार्वजनिक गरेका थिए। किराती आज अस्पताल पुग्दा उनका पिता शय्यामा आराम गरिरहेका थिए। डाँडाको जुन घाम जस्तै बुबासँग कुराकानी गरेको सार्वजनिक गरेको भन्दै उनलेसामाजिक सञ्जालमा सोही भावनात्मक संवाद उल्लेख गरेका छन्।

मन्त्री किराती र उनका बुबाबीच भएको संवाद जस्ताको त्यस्तै :

म- बुवा म मन्त्री हुने भए छु।

बुवा – हँ! होइन कुन मन्त्री ? राम राम राम साँच्चै हो ? होइन यो सपना हो कि बिपना हो?

म – हो बुवा साँच्चै हो बिपना नै हो। (संस्कृति,पर्यटन तथा नागरिक उड्डयन)

बुवा- मन्त्री चाहि कसरी भइस? कसले गर्दा भइस्?

म – पहिलो त तपाईंहरूले जन्माउनु भयो, दोस्रो त मैले धेरै राजनीतिमा दु:ख गरे, तेस्रो जनताले माया र भरोसा दियो, चौथो पार्टीले विश्वास गर्‍यो।

बुवा- राम राम राम ! म उहिले फकल्यान्डको लडाइँमा मरेको भए यो दिन सुन्न र देख्न पाउँदिन थें!

म – म पनि जनयुद्धमा मरेको भएँ त्यस्तै त हो…।

बुवा- हाम्रो वंशमा वडा अध्यक्षसम्म कोही भएनौं, राम्रो गर्नू।

म – पाउनु ठूलो कुरा होइन, काम गर्नु ठूलो कुरा हो। म मेहनेत गर्छु। आमाजी त पितृको देशमा हुनुहुन्छ आज हामी सँगै हुन पाएको भए…।

बुवा- म गएपछि तेरो आमा सँग भेट हुन्छ नै होला म सबै भनिदिउँला। बुवा रूनु भो! म…!

सम्झे!

बुवाले मलाई जेलमा भेट्न आउँदा पनि ऊ बेला धेरै रूनु भएको थियो। आज पनि उस्तै रूनुभयो तर प्रसंग बेग्ला बेग्लै थियो, आँशु भने उस्तै, आँशुको मुहान र भाव भने फरक।


(Source: Pardafas)

Leave a Reply

Your email address will not be published. Required fields are marked *