प्रधानमन्त्री पुष्पकमल दाहालले जनतासँग निर्वाचनको बेला गरिएका सुशासन र समृद्धिका साझा प्रतिबद्धताहरु पूरा गर्न सबै राजनीतिक दलहरूलाई एक ठाउँमा उभिन आह्वान गरेका छन्।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेको प्रधानमन्त्री दाहालले सोमबार प्र्रतिनिधि सभाको पहिलो बैठकमा बोल्दै राजनीतिक दलहरूसामु जनताको अपेक्षा, गुनासो, चासो र चिन्तालाई तत्काल सम्बोधन गर्दै अघि बढ्नुको विकल्प नभएको पनि स्पष्ट पारे। जनताले आफूहरूलाई सुशासन र समृद्धिको शर्तसहित निर्वाचित गराएको उल्लेख गर्दै उनले त्यसलाई सार्थक बनाउन संसद्लाई परीक्षा केन्द्रको रूपमा लिनुपर्ने बताए।
प्रधानमन्त्री दाहालले जनताको निरन्तर निगरानीमा रहेको तथ्यलाई नभुली जनताको अपेक्षा पूरा गर्न नयाँ संसद् सफल हुने विश्वाससमेत व्यक्त गरे। प्रधानमन्त्री दाहालले प्रतिक्रियाको नभई क्रियाको राजनीति गरेर मात्रै आफूहरूले मुलुकमा देखापरेका समस्याहरूको समाधानको सूत्र खोजी गर्न सकिने पनि स्मरण गराए।
प्रधानमन्त्री दाहालले प्रतिनिधि सभामा नयाँ दलहरूको प्रवेशलाई आफूले लोकतन्त्र र नागरिक सम्प्रभूताको जितको रूपमा लिएको र संसद्ले त्यसलाई नयाँ पुँजीको रूपमा लिनुपर्ने बताए।
उनले राजनीतिलाई भावना र उत्तेजनाभन्दा पर आर्थिक समृद्धिको महाअभियानमा केन्द्रित गर्न पनि सबै राजनीतिक दलहरूलाई आग्रह गरे। आर्थिक क्रान्तिको साझा संकल्प गर्दै समृद्ध र न्यायपूर्ण राष्ट्र निर्माण गर्न यो प्रतिनिधि सभा सार्थक संवादको थलो बन्ने आफूले अपेक्षा गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले त्यस काममा आफू सम्पूर्ण रूपमा केन्द्रित हुने प्रतिबद्धतासमेत व्यक्त गरे।
प्रधानमन्त्री दाहालले राष्ट्रका आवश्यक्ताबारेमा विवेकपूर्ण निर्णय लिन र भएका मतभेदहरू मर्यादापूर्ण ढंगले हल गर्न संसद्लाई सफलता मिल्ने विश्वाससमेत व्यक्त गरे।
(Source: Pardafas)