काठमाडौंको शंखरापुरमा स्थानीयलाई पेस्तोल ताक्ने प्रहरी निरीक्षक (इन्स्पेक्टर) विशालबहादुर बुढाथोकीमाथि छानबिन सुरु भएको छ।
प्रहरी वृत्त बौद्धमा कार्यरत इन्स्पेक्टर बुढाथोकीमाथि छानबिन सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए।
गत पुस २० गते शंखरापुर नगरपालिका–३, लप्सीफेदी, बोझेनीमा स्थानीयले विरोध प्रदर्शन गरेका थिए। नेपाल विद्युत प्राधिकरणले त्यहाँ सबस्टेशन निर्माण गर्न लागेको भन्दै स्थानीयले विरोध जनाएका हुन्।
प्रदर्शन नियन्त्रण गर्न बौद्धबाट थप मद्दतको लागि इन्स्पेक्टर बुढाथोकीको कमाण्डमा टोली खटिएको थियो।
त्यसक्रममा बुढाथोकीले स्थानीयलाई पेस्तोल ताकेर हान्दिने भन्दै धम्की दिएका थिए।
उनले गरेको सो कार्य गैरव्यवसायिक भएको भन्दै प्रहरीले उनलाई परिसर झिकाएर उनीमाथि छानबिन सुरु गरेको हो।
(Source: Pardafas)