प्राध्यापन छाडेर व्यावसायिक मौरीपालन, वार्षिक ३० लाख आम्दानी

ByRocket Reporter

२४ पुष २०७९, आईतवार ०९:५७ २४ पुष २०७९, आईतवार ०९:५७ २४ पुष २०७९, आईतवार ०९:५७

कपिलवस्तु वाणगंगाका अर्जुनप्रसाद पोख्रेलका हातमा दुई वटा स्नातकोत्तरका प्रमाणपत्र र साथमा आधा दर्जन क्याम्पस, कलेज र विद्यालयमा अध्यापनको अनुभव छ। अध्यापनमार्फत् समाजमा नाम, दाम दुवै कमाएका उनी पछिल्लो दुई दशकदेखि व्यावसायिक मौरीपालनमा रमाएका छन्।

वि.सं. २०६० मा २० वटा घारबाट मौरीपालन सुरु गरेका उनले अहिले घारको संख्या एक सय पुर्‍याइसकेका छन्। उनले घारको संख्या बढाएर एक हजार बनाउने योजना बनाएका छन्।

‘प्राध्यापन पेसा छाडिसकेको छु,’ उनले भने, ‘पूर्ण रूपमा यसैमा लाग्ने योजनाका साथ एक हजार घारमा मौरी पालन गर्ने योजना बनाएको छु।’

‘माउण्टेन बि कन्सर्न’ कृषि फार्ममार्फत् उनी अहिले ‘माउण्टेन अर्जुनादी हनी’ उत्पादन गरी देशभर ब्रान्डिङ गर्ने तयारीमा समेत छन्। लुम्बिनी प्रदेशमा उनको महको ब्राण्ड परिचित नै छ।

मौरीपालनका लागि ४० लाख रुपैयाँ लगानी लगाएका उनी अहिले मौरीचरनको सिजन भएकाले व्यस्त छन्। कात्तिक र मंसिर महिनामा मौरी बोकेर चरन खोज्दै उनी दाङ, प्यूठानसम्म पुगे। अहिले तोरी फूल्ने समय भएका कारण उनलाई मौरी चराउन भ्याइनभ्याइ छ ।

मौरीपालनबाट वार्षिक ४० क्विन्टल मह उत्पादन भइरहेको उनले बताए। ‘मौरीको मह, मैन र गोला बिक्रीबाट वार्षिक ३० लाख रुपैयाँ बराबरको आम्दानी भइरहेको छ,’ उनले भने, ‘सबै खर्च कटाएर १५ लाख रुपैयाँ बचत हुन्छ।’

श्रीमान्, श्रीमती मिलेर सुरु गरेको व्यवसायमा आफूबाहेक अन्य पाँच जनाले जागिर पाएको उनले बताए। उनले मह बिक्रीका लागि ‘अर्जुन बेस्ट हनी’ पसल पनि सञ्चालन गरिरहेका छन्।
‘पसलबाट आफूले उत्पादन गरेको र अरू किसानले उत्पादन गरेको मह बिक्री हुन्छ, त्यसबाट पनि आम्दानी राम्रो छ,’ उनले भने।

अर्थशास्त्र र समाजशास्त्रबाट स्तानकोत्तर उत्तीर्ण उनले काठमाडौंदेखि कपिलवस्तुसम्मका दर्जन बढी क्याम्पस, कलेज र विद्यालयमा अध्यापन गराइसकेका छन्।

नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेडका अध्यक्षसमेत भइसकेक पोख्रेल देशलाई महमा आत्मनिर्भर बनाउने अभियानमा लागेका छन्। अझै पनि ६० प्रतिशत मह आयात भइरहेकाले त्यसलाई प्रतिस्थापन गर्नुपर्ने उनको भनाइ छ।

इजरायलमा एक महिना बसेर अन्तर्राष्ट्रिय मौरीपालन तथा मौरी व्यवस्थापन एकेडेमिक कोर्स पूरा गरेका उनले मौरीपालनसँगै तालिमसमेत दिँदै आएका छन्।

जिल्लामा तीन सय बढी किसानले व्यावसायिक रूपमा मौरीपालन व्यवसाय गरेको वाणगंगा मौरीपालन सहकारी लिमिटेडले जनाएको छ। जिल्लामा मौरीपालनका लागि चरण क्षेत्र राम्रो मानिएकाले व्यवसाय फस्टाएको नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेडका अध्यक्ष लीलापति घिमिरे बताउँछन्।

यहाँ दलहन, तेलहन प्रशस्त लगाइने भएका कारण मौरीपालनका लागि राम्रो भएको उनले बताए। साथै साल, सिसौ, जंगली रुदिलो पनि राम्रै भएकाले मौरीका लागि राम्रो आहार हुने किसानहरू बताउँछन्। यहाँ मेलिफेरा जातको मौरी पालिने गरिएको छ।


(Source: Pardafas)

Leave a Reply

Your email address will not be published. Required fields are marked *