आफु पनि आमनागरिक जस्तै रहेको भन्दै गृहमन्त्री लामिछानेले हटाए अगुवा पछुवा गाडी

ByRocket Reporter

२२ पुष २०७९, शुक्रबार १६:५८ २२ पुष २०७९, शुक्रबार १६:५८ २२ पुष २०७९, शुक्रबार १६:५८

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो सुरक्षार्थ खटिने गरेका अगुवा–पछुवा गाडी हटाएको घोषणा गरेका छन्। उनले शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत यस्तो घोषणा गरेका हुन्। गृहमन्त्री लामिछानेले आफूमात्र उच्च सुरक्षा घेरामा हिँडडुल गरेर नागरिकका अपेक्षा पूरा नहुने बताउँदै सुरक्षा टोली हटाएको स्पष्ट पारेका छन्।

यसअघि गृहमन्त्रीको सुरक्षामा प्रहरी निरीक्षकको नेतृत्वमा टोली हुने गथ्र्यो। त्यसलाई पनि घटाएर उनले प्रहरी नायब निरिक्षक (सई)को नेतृत्वमा सुरक्षाकर्मी राखेका छन् ।‘उपप्रधानमन्त्री तथा गृहमन्त्रीको सवारीका क्रममा रहने अगुवा–पछुवा सुरक्षाकर्मी सहितको गाडी हटाएर मैले आजैबाट अगाडि एउटामात्र गाडी सुरक्षामा राख्ने निर्णय गरेको छु,’ उनले फेसबुकमा लेखेका छन्।

यद्यपि, भैपरी आउँदा भने आफूले सुरक्षा टोली लिने उनले जनाएका छन्। सो अवसरमा गृहमन्त्री लामिछानेले साइरन बजाएर नागरिकलाई उछिन्दै हिँड्ने प्रवृत्तिको आफू आलोचक भएको बताएका छन्। उनले आकस्मिक अवस्थाबाहेक आफूबाट त्यस्तो गतिविधि नहुने स्पष्ट पारेका छन्। यस्तो छ गृहमन्त्री लामिछानेको घोषणा ;

नागरिकलाई सुरक्षित महसुश हुने वातावरण निर्माण गर्ने निकाय हो गृह प्रशासन। म यसको नेतृत्वमा रहँदा, म मात्र उच्च सुरक्षा घेरामा हिडडुल गरेर नागरिकको अपेक्षा पुरा हुँदैन । म मेरो भन्दा पनि नागरिकको सेवा र सहजताका लागि काम गर्न यो जिम्मेवारीमा आएको हुँ । म आफुले बोलेका कुरा इमान्दारिताका साथ पुरा गर्नेछु।

-उपप्रधानमन्त्री एंव गृहमन्त्रीको नियुक्ति लगत्तै मैले मेरो सुरक्षामा खटिने प्रहरी निरीक्षकको नेतृत्वलाई घटाएर प्रहरी नायब निरिक्षक (सई)को नेतृत्व सुरक्षाकर्मी राखेको छु । -उपप्रधानमन्त्री तथा गृहमन्त्रीको सवारीका क्रममा रहने अगुवा-पछुवा सुरक्षाकर्मी सहितको गाडी हटाएर मैले आजैबाट अगाडी एउटामात्र गाडी सुरक्षामा राख्ने निर्णय गरेको छु । भै परि आउदाको परिस्थितिलाई अपबाद मानिदिनु होला।

-सडक नियमको पुर्ण पालना सबैले गर्नुपर्छ भनेर नियम लागु गराउने निकायको नेतृत्व गर्ने म सधै ट्राफिक वत्तिमा लाईन बसेर नै यात्रा गर्छु र सडक लेन अनुशासन पूर्ण पालना गर्ने गराउने कुरामा प्रतिवद्ध छु। कुनै अकाट्य परिस्थिति आइ पर्दा बाहेक म आफनो कार्यकाल भरी नै यी नियम पालना गर्छु।

-साईरन बजाएर नागरिकलाई उछिन्दै हिड्ने प्रवृतिको म सधै आलोचक हुँ,आकस्मिक अवस्थामा बाहेक मबाट यस्तो गतिविधि हुँदैन। -व्यक्तिगत कामकालागि कतै जानु परेमा वा विदाका दिनमा म आफ्नै सवारीसाधन प्रयोग गर्छु र यदि कुनै अवस्थामा सरकारी सवारीसाधन प्रयोग गर्नु परेमा त्यसको हिसाव राज्यलाई बुझाउने छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *