शीतलहरकाे चिसाेले हृदयघात हुँदा भारतको उत्तर प्रदेशमा एकैदिन २२ जनाको मृत्यु

ByRocket Reporter

२२ पुष २०७९, शुक्रबार १४:२७ २२ पुष २०७९, शुक्रबार १४:२७ २२ पुष २०७९, शुक्रबार १४:२७

भारतको उत्तर प्रदेशमा शीतलहरबाट सृजित चिसोले एकै दिन हृदयाघातका कारण कम्तीमा २२ जनाको मृत्यु भएको छ । मृतकहरू उत्तर प्रदेशको राजधानी लखनउबाट ८८ किलोमिटर पश्चिमस्थित कानपुरका बासिन्दा भएको बताइएको छ ।

लक्ष्मीपत सिंघानिया इन्स्टिच्युट अफ कार्डियोलोजी एन्ड कार्डियाक सर्जरी (एलपीएस इन्स्टिच्युट अफ कार्डियोलोजी) कानपुरले जारी गरेको तथ्यांकअनुसार बिहीबार अस्पतालको आकस्मिक तथा बहिरंग विभाग (ओपीडी)मा ७२३ जना मुटुका बिरामी आएका थिए । तीमध्ये अस्पतालमा सात जनाको उपचारकै क्रममा मृत्यु भएको र १५ जना अस्पताल नआइपुग्दै मृत घोषणा गरिएको थियो ।

अस्पतालका डाक्टरहरूले कानपुरमा फैलिएको शीतलहरका कारण रक्तचापमा अचानक वृद्धि भएको र त्यसले हृदयाघात निम्त्याएको बताइएको छ ।

‘कानपुरमा व्यापक शीतलहर बढेको छ जसका कारण हृदय रोगबाट पीडित मानिसहरूको सङ्ख्या ह्वात्तै बढेको छ,’ एलपीएस इन्स्टिच्युट अफ कार्डियोलोजीका निर्देशक विनय कृष्णले बताएका छन् ।

कानपुरका स्वास्थ्य विज्ञहरूले सबैलाई न्यानोमा रहन र घरभित्रै बस्न सल्लाह दिएका छन्।

उत्तर भारत विगत केही दिनदेखि शीतलहरको चपेटामा परेको छ । उत्तरी राज्यहरूमा तापक्रममा उल्लेख्य गिरावट आएको छ ।


(Source: Pardafas)

Leave a Reply

Your email address will not be published. Required fields are marked *