सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिता माघ १७ देखि

ByRocket Reporter

२१ पुष २०७९, बिहीबार १३:३४ २१ पुष २०७९, बिहीबार १३:३४ २१ पुष २०७९, बिहीबार १३:३४

ललितपुर टेबलटेनिस क्लबको आयोजनामा पाँचौं संस्करणको सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिता माघ १७ देखि आयोजना हुने भएको छ ।

बिहीबार ललितपुर टेबलटेनिस क्लबले पत्रकार सम्मेलन गरेर माघ १७ देखि २१ गतेसम्म आयोजना गर्ने जनाएको हो ।

प्रतियोगिता आयोजनाका लागि बिहीबार आयोजक ललितपुर टेबलटेनिस क्लब र सम्झना ल्याबोरेटरी क्लिनिकबीच प्रायोजन सम्झौता भयो । यससँगै सम्झनाले प्रायोजन पाँचौंपल्ट गर्न लागेको हो ।

ललितपुर टेबलटेनिस क्लबका अध्यक्ष उर्दिप जोशी र सम्झना ल्याबोरेटोरी क्लिनिककी निर्देशक रजना श्रेष्ठ जोशीबीच सम्झौता पत्र आदान प्रदान भयो । सो सम्झौताअनुसार प्रतियोगिताको अनुमानित बजेट २२ लाख ५५ हजार रुपैयाँमध्ये ५० प्रतिशत खर्च सम्झना ल्याबोरेरटीले व्यहोर्ने बताइएको छ ।

प्रतियोगितामा नेपाललगायत भारत, पाकिस्तान, बंगलादेश, माल्दिभ्स, थाइल्याण्ड, यूएई, जापान, फ्रान्स, इङ्ल्याण्ड, दक्षिण कोरियाका करिब पाँच सय खेलाडीको सहभागिता रहने अपेक्षा गरिएको छ । प्रतियोगितमा पुरुष/महिला एकल र टिम, भेट्रानको पुरुष ४० वर्षमाथि र ५५ वर्षमाथि तथा महिलामा ४० वर्षमाथि गरी सात विधामा खेल हुनेछ ।

एकल र टिममा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १०/१० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । भेट्रानतर्फ विजेतालाई २० हजार, उपविजेतालाई दश हजार तथा तेस्रोलाई पाँच हजार रुपैयाँबाट पुरस्कृत गरिनेछ । प्रतियोगितको कुल पुरस्कार राशि पाँच लाख रुपैयाँ रहेको छ ।

 


(Source: Pardafas)

Leave a Reply

Your email address will not be published. Required fields are marked *