गठबन्धनमा प्रधानमन्त्री नपाए एमालेसँग मिलेर सरकार – Saja Khabar

ByRocket Reporter

१७ मंसिर २०७९, शनिबार १३:१८ १७ मंसिर २०७९, शनिबार १३:१८ १७ मंसिर २०७९, शनिबार १३:१८

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री दिए सत्तारूढ गठबन्धनमा रहने नभए नेकपा एमालेसँग संवाद अघि बढाउने बारे छलफल गरेको छ । शनिबार अपरान्ह पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको पार्टी पदाधिकारी बैठकमा सरकार गठनको विकल्पमा माओवादी केन्द्रले प्रारम्भिक छलफल गरेको हो ।

सत्तारूढ गठबन्धनभित्र प्रधानमन्त्रीका लागि दबाब बढाउन पनि सरकार गठनका सबै विकल्पमा छलफल गर्नुपर्ने मत नेताहरूले राखेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । ‘पहिलो प्राथमिकता सत्तारूढ गठबन्धन नै हो । त्यहाँ हामीले प्रधानमन्त्रीको दावी गर्नुपर्छ भन्ने मत रह्यो ।

नभए एमालेसँग मिलेर पनि सरकार बनाउने बारेमा प्रारम्भिक छलफल भएको छ’, ती नेताले भने । निर्वाचन लगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन गरेर आगामी रणनीतिका बारेमा छलफल गर्न प्रस्ताव गरेका थिए ।

दुई अध्यक्षबीचको टेलिफोन कुराकानी प्रचण्डको सचिवालयबाट मिडियामा लगेर सत्ता गठबन्धनमा बार्गेनिङको माध्यम बनाएको भन्दै प्रचण्डसँग एमालेका नेताहरू रूष्ट छन् ।त्यसयता माओवादी र एमालेका नेताहरूबीच शीर्ष तहमा संवाद भएको छैन् । माओवादी केन्द्रले शनिबारको बैठकबाट भने एमालेसँग संवादको ढोका खोलेको छ ।

बैठकले सरकार गठनको सबै विकल्प खुल्ला गरेको पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले बताएका छन् । माओवादी केन्द्रको नेतृत्वमा सरकार बनाउनका लागि एमालेसँग पनि छलफल गर्न सकिने उनको भनाई छ ।‘गठबन्धन छोडने निर्णय गरिएको छैन । र, अन्य विकल्प पनि खुला राखिएको छ ।

विभिन्न विकल्पमा जान सकिन्छ । तर, पुरानो गठबन्धनलाई छोडने, तोडने निर्णय पनि गरिएको छैन’, महराले भने । नेकपा (माओवादी केन्द्र)ले मंसिर ४ मा भएको चुनावबाट संघमा अपेक्षाकृत सीट प्राप्त नभएको प्रारम्भिक समीक्षा गरेको छ । शनिबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको पार्टी पदाधिकारी बैठकले अपेक्षा गरेअनुसार सीट हासिल नभएको निश्कर्ष माओवादी केन्द्रले निकालेको हो ।

बैठकपछि पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले भने, ‘निर्वाचनको प्रारम्भिक समिक्षा गरियो । अपेक्षा गरिएअनुसार हामीले संघमा सिट हासिल गर्न सकिएन भन्ने समिक्षा भयो । समग्रमा चुनावको सबै परिणाम आएपछि मात्रै गर्ने पूर्ण समीक्षा गर्ने कुरा गरियो ।’

माओवादी केन्द्रले सोमबार अपरान्ह २ बजे बस्ने गरी पदाधिकारी बैठक बोलाएको छ । उक्त बैठकमा आगामी रणनीतिका बारेमा विस्तृतमा छलफल गर्ने महासचिव देवप्रसाद गुरुङले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *