के अडानीले फेर्लान् त एसियाकै ठूलो सुकुम्बासी बस्ती धारावीको मुहार ?

ByRocket Reporter

१७ मंसिर २०७९, शनिबार १०:३८ १७ मंसिर २०७९, शनिबार १०:३८ १७ मंसिर २०७९, शनिबार १०:३८

काठमाडौं महानगरपालिकाले थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन खोजेपछि यो विषयले अहिले देशभर चर्चा पाएको छ । सुकुम्बासीलाई त्यहाँबाट हटाउने, नहटाउने वा व्यवस्थापन कसरी गर्ने भन्नेबारे मानिसहरु पक्ष विपक्षमा विभाजित छन् ।

सुकुम्बासीको समस्या देशैभर छ । सरकारले हालसम्म १३ वटा आयोग तथा समिति बनाए पनि यो समस्या समाधान हुन सकेको छैन । थापाथलीकै सुकुम्बासीलाई स्थानान्तरण गर्न सरकारले अपार्टमेन्ट बनाए पनि उनीहरु त्यहाँ जान चाहिरहेका छैनन् ।

यसैबेला एसियाकै ठूलो सुकुम्बासी बस्ती मानिने भारतको मुम्बईस्थित धारावीको पुनर्विकासको जिम्मा गौतम अडानीको अडानी समूहले पाएको छ । धारावीको पुनर्विकासको योजना के छ ? विश्वकै लागि उदाहरणीय बन्ने सक्ने यो आयोजनाका लागि चुनौती केके छन् त ? के नेपालले पनि यो आयोजनाबाट सिक्न छ त ? प्रस्तुत छ बीबीसी हिन्दीमा प्रकाशित धारावी पुनर्विकाससम्बन्धी समाचारको अनुवाद :

भारतको आर्थिक राजधानी मुम्बईको मुटुमा अवस्थित धारावीलाई एसियाको सबैभन्दा ठूलो झुपडीको बस्तीको रूपमा पनि चिनिन्छ । यहाँ एउटा कोठा नै हरेक परिवारको घर हो । कोठाको एक पर्खालबाट अर्को पर्खालको दूरी धेरै छैन । जसलाई बाहिरी संसारले झुपडी भन्छन् र धारावी यस्ता हजारौं झुपडी मिलेर बनेको छ ।

४० वर्षीया अर्चना पवार धारावीमा १० गुणा १५ फिटको घरमा बस्छिन् । यहीँ जन्मिएकी अर्चना विवाहपछि पनि धारावीमै बस्दै आएकी छन् । ‘सानैदेखि धारावीमा घर बन्ने कुरा सुन्दै आएको थिएँ । अहिलेसम्म चर्चा चलिरहेको छ । मेरो त विवाह भएर छोराछोरी भइसके, तर धारावीको पुनर्विकास कतै देखिँदैन । अहिले फेरि घर पाउने भन्दै छन् । तर त्यतिन्जेल हाम्रा छोराछोरी हाम्रो उमेरका हुनेछन् । हाम्रा सपना सपना नै रहे,’ उनी भन्छिन् ।

अर्चनाका आमाबुबा र सासुससुराको सबै परिवार धेरै वर्षदेखि धारावीमा बस्दै आएका छन् । उनको शिक्षा पनि धारावीमा भएको थियो । अहिले उनकी छोरी पनि यहीँ पढ्छिन् । धारावीमा बस्ने सबैले अझै पनि सार्वजनिक शौचालय प्रयोग गर्छन् । अर्चनाका अनुसार उनले अहिलेसम्म साना घर, फोहोर र ढल मात्रै देखेकी छिन् ।

‘हामी धारावीमा बस्नेलाई मानिसहरूले फरक नजरले हेर्छन् । हामी तिनीहरूको मनोवृत्ति परिवर्तन गर्न चाहन्छौं । हामी अरू मानिसहरू जस्तै राम्रो, सफा ठाउँमा बस्न पाउनुपर्छ । त्यहाँ विद्यालयहरू हुनुपर्छ । बच्चाहरूलाई खेल्न खुला मैदान हुनुपर्छ । स्वास्थ्य सुविधा हुनुपर्छ, हामी यति मात्र चाहन्छौं,’ उनी भन्छिन् ।

अर्चना र उनको परिवार मात्र होइन, उनीजस्ता १० लाखभन्दा बढी मानिस विगत १८ वर्षदेखि धारावी पुनर्विकास आयोजनाको प्रतीक्षामा छन् । १८ वर्षमा चार पटक प्रक्रिया असफल भएपछि यस वर्ष धारावी पुनर्विकास आयोजना प्राधिकरणले टेन्डर खोल्यो र अडानी समूहले लिलामी जित्यो ।

‘धारावी पुनर्विकासको बाटो चुनौतीपूर्ण’

अडानी समूहले ५,६९० करोड भारु बोली लगाएर आयोजना पाएको छ । त्यसैले धारावीको पुनर्विकासको बाटो खुलेको भन्न सकिन्छ । तर यो सुरुवात मात्र हो ।

धारावी पुनर्विकास परियोजनाका प्रमुख कार्यकारी अधिकृत एसभीआर श्रीनिवासले ६०० एकडमा फैलिएको फराकिलो र घना बस्तीको पुनर्विकास ‘चुनौतीहरूले भरिएको’ छ ।

आखिर यो परियोजना के हो ? धारावीको पुनर्विकासको योजना के छ ? हजारौं बस्ती, सयौं साना व्यवसाय र लाखौं जनसंख्या भएको धारावीलाई कसरी रूपान्तरण गर्ने र यसका लागि चुनौतीहरू के छन् ?

के हो धारावी पुनर्विकास परियोजना ?

वास्तवमा, मुम्बईको मध्य भागमा रहेको धारावी बस्तीमा ६० हजारभन्दा बढी घरपरिवार छन्, जहाँ १० लाखभन्दा बढी मानिस बस्छन् । यसबाहेक धारावीमा १३ हजारभन्दा बढी साना उद्योग सञ्चालनमा छन् । धारावीमा छालाको ठूलो बजार छ । हातले भाँडा बनाउने कुमाले पनि यहाँ बसोबास गर्छन् । यहाँ करिब साढे दुई हजार कुमाले घर छन् ।

कपडा तयार गर्ने र सिलाइबुनाइको काम पनि यहाँ ठूलो मात्रामा गरिन्छ । धारावीमा लाखौं हात दिनरात काम गरिरहेका हुन्छन् । यसमा जरी कामदेखि सजावटका सामान बनाउने, प्लास्टिकका सामान बनाउनेदेखि स्क्र्यापको व्यवसायसम्मका सयौँ साना–ठूला व्यवसायी संलग्न छन् ।

धारावी मुम्बई उपनगरीय रेलवेको केन्द्रीय, हार्बर र पश्चिमी लाइनहरूसँग जोडिएको छ । यहाँबाट पश्चिममा महिम रेलवे स्टेशन, पूर्वमा सायन क्षेत्र र उत्तरमा मिठी नदी छ ।

धारावीको पुनर्विकासको आयोजना अब सुरु हुँदै छ । अडानी समूहले प्रदेश सरकारको स्वीकृति पाएपछि आयोजनाको अर्को प्रक्रिया सुरु हुनेछ । धारावी पुनर्विकास परियोजनाका प्रमुख कार्यकारी अधिकारी श्रीनिवासले पनि महाराष्ट्र सरकारले आगामी सात वर्षभित्र धारावीको पुनः विकास गर्ने लक्ष्य राखेको बताए ।

‘अब सरकारले हामीलाई स्वीकृति दिनेछ । त्यसपछि गुरुयोजना बनाइनेछ, जसमा कति मानिस अट्नेछन्, कतिवटा घर हुनेछन्, पूर्वाधार कस्तो हुनेछ, कति व्यापार व्यवसाय सञ्चालन गर्न सकिनेछ, सबै कुरा हेरिनेछ, हामी पनि लगानीका लागि प्रयास गर्नेछौँ । यो आयोजना सम्पन्न गर्न लगानी चाहिन्छ,’ उनले भने ।

श्रीनिवासले यो आयोजनामा ८० प्रतिशत निजी र २० प्रतिशत सरकारी सहभागिता रहने पनि बताए । धारावी पुनर्विकासका लागि प्रदेश सरकारबाट पहिलो प्रस्ताव सन् २००४ मा आएको थियो । त्यसपछि बस्ती पुनस्र्थापना प्राधिकरण अन्तर्गत धारावी पुनर्विकास आयोजनाको छुट्टै कार्यालय स्थापना गरिएको थियो ।

२००४ मा परियोजना ५ हजार ६०० करोडको प्रस्तावित लागतमा स्वीकृत भएको थियो । अहिले यो आयोजनाको लागत २८ हजार करोड रुपैयाँ पुगेको छ ।

पुनर्विकास योजना कसरी कार्यान्वयन हुन्छ ?

आयोजनाको काम सुरु गर्नुअघि सरकारी प्रक्रियाहरू अधिकारी र बस्तीवासीले पूरा गर्नुपर्नेछ । स्लम रिह्याबिलिटेसन अथोरिटी (एसआरए) का अनुसार मुम्बईको करिब ४८.३ प्रतिशत जनसंख्या झुपडीमा बस्छन् । एसआरएलार्य मुम्बईको कुनै पनि बस्ती क्षेत्रको विकास र पुनस्र्थापनाको लागि जिम्मेवारी छ । धारावीको पुनर्विकास आयोजना पनि एसआरएको नियम र कार्यविधि अनुसार कार्यान्वयन हुनेछ ।

प्राधिकरण र अडानी समूह दुवैले थप प्रक्रियाका लागि मिलेर काम गर्नेछन् । अर्थात् यी तीनैको सहकार्यमा धारावीमा निर्माण आयोजनाको कार्यान्वयन, पूर्वाधार विस्तार र जनताको पुनस्र्थापना हुनेछ ।

श्रीनिवास भन्छन्, ‘सरकारको स्वीकृतिपछि स्पेशल पर्पज भेइकल बनाइनेछ, रि–डेभलपमेन्टको गुरुयोजना पनि त्यही बनाइनेछ, त्यसपछि गुरुयोजनाका लागि पनि सरकारको स्वीकृति आवश्यक छ ।’ यो स्वीकृतिपछि मात्र धारावीमा सर्भे औपचारिक रुपमा सुरु हुनेछ । जनसंख्या, धारावीमा बसोबासको आधिकारिक प्रमाण, झुपडीको स्थान, यसका कागजातहरू जस्ता सबै सानातिना मुद्दाहरू अधिकारीहरूले रेकर्ड गर्नेछन् ।

‘यस सर्वेक्षणपछि झुपडीवासीलाई सूचना पठाइनेछ, त्यसपछि उनीहरुलाई कुनै आपत्ति भएमा आफ्नो पक्ष प्रस्तुत गर्ने मौका दिइनेछ । उनीहरु सहमतिपछि मात्रै थप काम सुरु हुनेछ,’ उनले भने ।

सरकारका सामु कस्ता चुनौती छन्

धारावी आयोजनामा बस्ती पुनर्विकास मात्र प्रमुख मुद्दा होइन । साना उद्योग, असंगठित, संगठित श्रमिक र विभिन्न जात धर्मका समुदायको सहकार्यमा यो आयोजना कार्यान्वयन गर्नु सरकारसामु सबैभन्दा ठूलो चुनौती हो ।

श्रीनिवास भन्छन्, ‘धारावी एउटा मात्र चुनौती होइन । यहाँको जनसंख्या, घना बसोबास भएको क्षेत्र, विमानस्थलको नियमअनुसार उचाइ निर्माणमा प्रतिबन्धजस्ता धेरै चुनौतीहरू छन् । तर सबैभन्दा ठूलो चुनौती भनेको बहुसांस्कृतिक समूह विभिन्न समुदायको सहभागिता महत्त्वपूर्ण छ । त्यो ठूलो चुनौती हो ।’

धारावीका साँघुरो गल्लीमा देशका विभिन्न राज्यका, विभिन्न धर्म र जातका मानिसहरु एकसाथ बस्छन् । आयोजनाको अध्ययन गरेका वास्तुविद् तथा सामाजिक अभियन्ता पीके दास भन्छन्, ‘धारावीको पुनर्विकास निकै जटिल छ। धारावी बस्तीमा मात्र सीमित छैन, त्यसैले यसको पुनर्विकास भवन निर्माण गरेर मात्रै हुँदैन ।’

‘कपडा र छालाको व्यवसाय लगायतमा मजदुर र असंगठित उद्योगहरू ठूलो संख्यामा छन् । पुरानो बस्ती पुरानो काम हो, त्यसैले धारावीको पुनर्विकास पक्कै पनि सजिलो छैन,’ उनले भने । उनले धारावीमा आधारभूत सुविधाको अभाव रहेको पनि बताए ।

उनले भने, ‘जनताको जीवनस्तर खस्किएको छ, आधारभूत सुविधाको अभाव छ, खुला ठाउँ छैन, स्वच्छ हावा छैन, उज्यालो छैन, मानसिक स्वास्थ्यमा पनि असर परेको छ । मलाई लाग्छ पुनर्विकास दुईवटा कारणले मात्रै महत्वपूर्ण छ । एउटा त्यहाँको जीवनस्तरमा सुधार गर्नु र दोस्रो दिगो र स्वच्छ वातावरणको विकास गर्नु हो ।’

धारावीमा बस्ने र काम गर्ने मानिसहरूको जात र धर्मको बारेमा जानकारी मुम्बई नगरपालिकाको अभिलेखमा पाइन्छ । आदि द्रविड, तमिलनाडुका नादार र थेवरहरू, महाराष्ट्रका चर्मारा र घुमन्ते जनजातिहरू, उत्तर प्रदेशका बरेलवी र देवबन्दी मुस्लिम उप–जातिहरू, बिहार–पश्चिम बंगाल र बंगलादेशका मुस्लिमहरू, कर्नाटकको गुलबर्गाका गान्धारी समुदाय, राजस्थानका मारवाडीहरू, क्रिश्चियनहरू । केरला हरियाणाको वाल्मीकि समुदायका मानिसहरू धारावीमा विगत १३६ वर्षदेखि बस्दै आएका छन् ।

धारावीमा स्वास्थ्य संकट

धारावीका जनता कति स्वास्थ्य संकटमा छन् भन्ने विषय कोरोना संकटका बेला प्रष्ट भएको थियो । यहाँ कोरोना भाइरस संक्रमणको प्रकोप फैलिएको थियो । जब देशभर लकडाउन थियो र मानिसहरु आफ्नै घरमा सुरक्षितसाथ बसेका थिए, तब धारावीका बासिन्दाका लागि त्यो विकल्प थिएन ।

उनीहरुलाई सरसफाईको लागि पर्याप्त सुविधा थिएन, आइसोलेसनको पनि व्यवस्था थिएन । धारावीका ८० प्रतिशत जनताले सार्वजनिक शौचालय प्रयोग गर्ने भएकाले २४ सै घण्टा पानी, साबुन र सेनिटाइजरको व्यवस्था गर्न स्थानीय प्रशासनसँग माग गरेका थिए ।

धारावीमा सरुवा रोग तीव्र गतिमा फैलिन्छ, साथै महिला तथा बालबालिकाले खानाबाट पर्याप्त पोषण नपाउँदा रोग प्रतिरोधात्मक क्षमता कम भएको चिकित्सक बताउँछन् । यहाँ क्षयरोगबाट संक्रमितको संख्या ठूलो छ ।

धारावीको राजनीति

राजनीतिक रूपमा धारावी राष्ट्रिय पार्टीहरू, भाजपा र कांग्रेस दुवैका लागि महत्वपूर्ण छ । धारावीको जनसंख्या लाखौंमा रहेको र त्यहाँ अल्पसंख्यक समुदायका मानिस पनि ठूलो संख्यामा रहेको विज्ञहरू बताउँछन् । त्यसैले यो राजनीतिक दलका लागि ठूलो ‘भोट बैंक’ हो ।

धारावी मुम्बई–दक्षिण मध्य लोकसभा र विधानसभा निर्वाचन क्षेत्र अन्तर्गत पर्छ । यो निर्वाचन क्षेत्र अनुसूचित जाति (एससी) उम्मेदवारहरूको लागि आरक्षित छ । यस सिटमा कांग्रेस र शिवसेनाको वर्चस्व छ । कांग्रेस नेतृ तथा पूर्वमन्त्री वर्षा गायकवाड यस क्षेत्रबाट सन् २००९ यता तीन पटक निर्वाचित भइन् । यसअघि उनका पिता स्वर्गीय एकनाथ गायकवाड यस क्षेत्रका जनप्रतिनिधि थिए ।

यस सिटबाट शिवसेनाका राहुल शेवाले सांसद छन् । धारावीमा शिवसेनाका चार, कांग्रेसका दुई र एनसीपीका एक जना नगरसेवक छन् । यस क्षेत्रमा वञ्चित बहुजन अघाडी, बहुजन समाज पार्टीका उम्मेदवार पनि प्रतिस्पर्धामा छन् ।

यदि भाजपाले समयमै धारावी पुनर्विकास परियोजना पूरा गर्छ भने आगामी चुनावमा उसलाई कत्तिको फाइदा हुन्छ ? यसबारे मुम्बईका वरिष्ठ पत्रकार सचिन धानजीले भने, ‘धारावीमा सबैभन्दा बढी अल्पसंख्यक मतदाता छन् । यहाँ बसोबास गर्ने मराठी, मारवाडी र गुजराती मतदाताहरू भाजपामा जान सक्छन् भन्ने अनुमान गरे पनि मुस्लिम, दलित र दक्षिण भारतीय जनताको मत पाउन निकै गाह्रो छ । यस अर्थमा भाजपालाई खासै फाइदा छैन, अधिकतम वडामा जितको खाता खोल्न सक्छ ।’

यस्तो अवस्थामा धारावीको पुनर्विकास आयोजना कसरी सम्पन्न हुन्छ र यसले यहाँका जनताको जीवनमा कस्तो र कति परिवर्तन ल्याउने हो त्यो हेर्नु चासोको विषय हुनेछ ।


(Source: Pardafas)

Leave a Reply

Your email address will not be published. Required fields are marked *