माओवादी उपमहासचिव पुन उपचारका लागि आज चीन जाँदै – Pardafas.com

ByRocket Reporter

१६ मंसिर २०७९, शुक्रबार ०७:१९ १६ मंसिर २०७९, शुक्रबार ०७:१९ १६ मंसिर २०७९, शुक्रबार ०७:१९

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन फलोअप उपचारका लागि आज चीन जाने भएका छन् ।

नेता पुनलाई वंशाणुगत रूपमा रहेको पुरानो रोग जण्डिसले फेरि सताएपछि यसअघि उपचार गरिएको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पताल जान लागेका हुन् । यसअघि २०७८ साल मङ्सिरमा पनि उनकोसोही अस्पतालमा एक महिना उपचार भएको थियो ।

चीन–नेपाल नियमित उडान नभएकाले पूर्वअर्थ तथा ऊर्जामन्त्रीसमेत रहेका उपमहासचिव पुन आज साँझ ७ बजे इमिरेट्सको उडानबाट दुबई, ग्वाञ्झाओ हुँदै सेनजेन जान लागेको उनको सचिवालयले जानकारी दिएको छ ।

गत वर्ष चीनमा उपचार गरेर फर्कंदा जण्डिसको मात्रा (बिलरुविन) नौ रहेकामा अहिले बढेर ३५ पुगेको छ । नेता पुनसँगै उपचारका लागि पूर्वसभामुख तथा पत्नी ओनसरी घर्ती र छोरी शीला आज चीनको सेनजेन जान लागेका हुन् ।

काठमाडौँमा रगत, ब्लड प्रेसर, मुटुको चाल, बिलरुविनको मात्रा परीक्षण गरेर थर्ड पिपुल्स अस्पतालका चिकित्सकसँग नियमित सम्पर्कमा रहनुभएका पुनलाई चिकित्सकले फलोअपमा अस्पताल नै आउन सल्लाह दिएपछि आज चीन जान लागेका हुन् ।

चीन जानुअघि उपमहासचिव पुनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवासँगसमेत परामर्श गरिसकेका छन् । पछिल्लो समय उनी काठमाडौँमा बसी आराम गरिरहेका थिए ।

उनी उपचारका लागि जाने भनिए पनि चीनले उनको भ्रमणलाई फेरि एकपटक भरपुर उपयोग गर्न सक्ने आशंका राजनीतिक वृत्तमा चलेको छ ।

भर्खरै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सकिएकाले पुनले राजनीतिक भेटघाट र छलफल पनि गर्न सक्ने अनुमान गरिएको छ । निर्वाचनको मतगणना अन्त्यतिर आइपुग्दा हालसम्म कुनै पनि दलको बहुमत नआउने पक्का भएको छ ।

र, याे पनि-

माओवादीका उपमहासचिव पुन चीन जाँदै, वाम गठबन्धन ब्युँताउने चिनियाँ प्रयासको आशंका ?

सत्ता गठबन्धनमा हाल रहेको कांग्रेस सबैभन्दा ठूलो पार्टी हुने भएको छ । माओवादी, नेकपा एस, लोसपा र जनमोर्चा जस्ता गठबन्धनका दलका उम्मेदवार पनि विजयी भएका छन् । तर, बहुमत नपुगेकाले दलहरु पुरानै सत्ता गठबन्धनलाई कायम राख्छन् कि अन्य पार्टीसँग सहकार्यका लागि अघि बढ्छन् भन्ने स्पष्ट भइसकेको छैन ।

यहीबीच माओवादीका उपमहासचिव पुनले चीनमा वाम गठबन्धन ब्युँताउनेबारे छलफल हुनसक्ने अनुमान गरिएको छ ।

चीनले विगतमा नेपालका कम्युनिस्ट दलहरुलाई एक स्थानमा ल्याउन भूमिका खेलेको थियो । तर, एमाले र माओवादीबीच एकता भई बनेको नेकपा पुनः विभाजित भएपछि चीनको प्रयास व्यर्थ साबित भएको थियो । हालै सम्पन्न चुनावका लागि चीनले वाम गठबन्धन गराउन पनि कोसिस गरेको थियो । तर, दलहरु नमानेपछि गठबन्धन हुन सकेन ।

चिनियाँ सरकार स्वामित्वमा रहेका ठुला परियोजनासँगै नेपालमा आफ्नो दबदबा कायम राख्न उसले माओवादी केन्द्र र एमालेका नेताहरुलाई विभिन्न कोणबाट प्रभावमा राख्दै आएको छ ।

अहिले नेपालमा चिनियाँ राजदूतको पद रिक्त छ । यसअघिकी राजदूत होउ यान्छीको स्थानामा चीनले वरिष्ठ कूटनीतिज्ञ छन सोङलाई पठाउने तयारी गरेको छ । यस्तो अवस्थामा नेपालमा पुनः वाम गठबन्धनमा सरकार बनाउन चीनले पुनसँग छलफल गर्न सक्ने अनुमान छ । चीनले विगतमा नेपालका कम्युनिस्ट पार्टीहरुलाई एक बनाउन प्रयास गर्दै आएको छ ।

केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई फोन गर्दै मिलेर सरकार बनाउन आग्रह गरेका थिए । संवादका लागि ओलीले गरेको प्रस्तावलाई प्रचण्डले सकारात्मक जवाफ दिँदै भेटवार्ता गर्ने जनाएका थिए । चीनले पनि दुवै पार्टी गरोस् भन्ने चाहँदै आएको छ र पुनले बेइजिङमा चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुसँग भेटमा गरेमा यसबारेमा छलफल हुने अनुमान छ ।

पुन पनि कांग्रेसभन्दा एमालेलगायत कम्युनिस्ट दलहरुसँग मिलेर माओवादी अघि बढ्नुपर्ने पक्षमा छन् । हालको निर्वाचनमा कांग्रेसको मत ट्रान्सफर हुननसकेकोबारे आइतबारको सत्ता गठबन्धनको बैठकमा चर्चा चलेको थियो ।


(Source: Pardafas)

Leave a Reply

Your email address will not be published. Required fields are marked *