अभिनेता सलोन बस्नेतले मंसिर १२ गते एयर होस्टेस करिश्मा केसीसँग करिब ४ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरे ।विवाहको पर्सीपल्ट मंसिर १४ गते बुधबार० काठमाडौंको एक पाँचतारे होटलमा उनले आफन्त, साथीभाई र फिल्मकर्मीहरुका लागि रिसेप्सन पार्टी आयोजना गरेका थिए ।
जहाँ उल्लेख्य संख्यामा नवविवाहित जोडीलाई बधाई दिन पाहुनाहरु उपस्थित थिए ।पाहुनाहरुबाट बधाई ग्रहण गरेपछि मिडियासँग कुराकानी गर्ने क्रममा सलोनले खुसीसाथ विवाह गर्दा मज्जा आउने अनुभव साटे ।उनले श्रीमतीतिर हेर्दै खुसी भावमा भने( ‘मेरो विवाहको कुरा सुरु भएपछि जति जनासँग भेट गरेको थिएँ,
उहाँहरुले विवाहपछि धेरै तनाव हुन्छ भनेर मलाई एक किसिमको डर नै देखाइदिनुभएको छ । तर, खुसी भएर विवाह गर्दा एकदमै मज्जा आउँदो रहेछ ।’उनले करिश्माको आगमनले आफ्नो अपुरो जीवन पूर्ण भएकोमा खुसी व्यक्त गरेका छन् । सलोनले आमा(बुबा भने अलि पछि बन्ने बताए ।
सञ्चारकर्मीको प्रश्नमा उनले मुस्कुराउँदै भने, ‘बच्चा चाहिँ अलि पछाडि नै हुन्छ । पहिला बुढा(बुढी बनेर रमाउन चाहन्छौं, त्यसपछि आमा(बुबा बन्नेतिर सोचौंला ।’ त्यस्तै, करिश्माले आफ्नो कामले गर्दा अहिले नै बच्चाको विषयमा सोच्न नसक्ने बताइन् ।बिहे गर्दा रमाइलो भएको बताउँदै उनले तत्काल हनिमुनका लागि कुनै योजना नबनाएको बताएकी छन् ।
‘हामीले हनिमुनको प्लान नै गर्न पाएका छैनौं ।विवाहका लागि म विदा लिएर बसेको हुँ । अबको दुई दिनमा मेरो विदा सकिन्छ । नयाँ वर्षको अवसर पारेर हनिमुनको प्लान गर्नेछौं,’ उनले भनिन् । उनले हिरोसँग बिहे गर्दाको फाइदा र बेफाइदाको बारेमा पनि आफ्नो अनुभव सुनाइन् ।
उनी भन्छिन्, ‘हिरोसँग विवाह गर्दाको फाइदा अलि बढीले चिन्न थालेका छन् । बेफाइदा चाहिँ जे गरे पनि क्यामेरा अगाडि आउँदो रहेछ । खाना खाँदा पनि ।’उनलाई श्रीमान् सलोनले अभिनय गरेका फिल्मध्ये सबैभन्दा मन परेको चाहिँ ‘डाँडाको वर पीपल’ रहेछ ।
करिश्मा नेपाल एयरलाइन्समा एयर होस्टेस छिन् । सलोन भने केही दिनमै नयाँ फिल्मको छायांकनमा निस्कने तयारीमा छन् ।उता आफ्नो अभिव्यक्तिका कारण प्रायः चर्चा र विवादमा आउने गरेका निर्देशक शोभित बस्नेतले मंसिर १२ गते आफ्नो एकमात्र छोरा सलोन बस्नेतको विवाह गरे । उनलाई छोराको विवाह भव्य रुपमा गर्ने ठूलो सपना थियो, जुन उनले पूरा गरेका छन् ।
सम्भवतः बस्नेत परिवारकै महंगो र भव्य विवाह सलोनको भएको हो । शोभितलाई अब छोरीको विवाह पनि सानदार रुपमा गर्ने सपना छ ।छोराको विवाहको चटारोमा पनि विन्दास देखिएका उनले बुधवार काठमाडौंको एक पाँचतारे होटलमा आयोजित रिसेप्सन पार्टीमा नाति-नातिना खेलाउने इच्छा रहेको बताए ।
उनले भने, ‘सलोन बच्चा हुँदा मैले उसलाई कहिल्यै समय दिन पाइनँ । त्यसले गर्दा पनि सलोन बच्चा हुँदा दिन नपाएको समय म नाति-नातिनालाई दिन चाहन्छु । नाति-नातिना भएपछि म धेरै काम छोड्छु पनि ।’उनले छोराको बिहेपछि आफू परिपक्व भएको बताए ।
तर, आफू कहिल्यै पाको नहुने भन्दै शोभितले ठट्टा पनि गरे । करिश्मालाई बुहारीको रुपमा पाएकोमा आफूलाई भाग्यमानी ठान्छन्, शोभित । ‘बुहारीको रुपमा करिश्मालाई पाएकोमा आफैंलाई भाग्यमानी ठान्छु,’ उनले अगाडि भने, ‘दुई दिन अगाडिसम्म सलोन मेरो छोरा थियो,
आज बुहारी पनि मेरो भएर थपिएको महसुस गरेको छु ।’बस्नेत परिवारलाई आफ्नो ठानेर सधैं हाँसी-खुसी बस्न करिश्मासँग उनले आग्रह गरेका छन् । बुहारीसँग के माग्न चाहनुहुन्छ ? भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘म करिश्मासँग त्यस्तो केही माग्दिनँ ।
हाम्रो जस्तो हाँसी-खुसी बस्नेत परिवार छ, त्यसमा सधैं मिसिएर हाँसी-खुसी र बस्नेत परिवारलाई आफ्नो ठानेर बसिदिए पुग्छ ।’ करिश्माले पनि आफू हर सुःख-दुःखमा साथमै रहने वाचा गरिन् ।