चुनाब हारेका मन्त्रिहरु अझै राजिनामा किन दिदैनन ? – Saja Khabar

ByRocket Reporter

१५ मंसिर २०७९, बिहीबार १४:३२ १५ मंसिर २०७९, बिहीबार १४:३२ १५ मंसिर २०७९, बिहीबार १४:३२

काठमाडौँ- प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका मन्त्रीहरू अहिले पनि पदमै रहेको भन्दै विभिन्न क्षेत्रबाट प्रश्न उठेका छन्। कतिपयले उनीहरूले राजीनामा दिनुपर्ने माग गरिरहेका बेला मन्त्रीहरूले भने सार्वजनिक प्रतिक्रिया दिएका छैनन्।

हालसम्मको मतपरिणाम अनुसार शेरबहादुर देउवा नेतृत्वको सरकारमा रहेका मन्त्रीहरूमध्ये सात जना मात्रै प्रतिनिधिसभा निर्वाचनमा पुनः निर्वाचित भएका छन्। संसदीय निर्वाचनमा पराजित भएकाहरूले आफ्नो मन्त्री पद यथावत् राख्ने वा राजीनामा दिने भन्ने विषय नितान्त व्यक्तिगत एवं राजनीतिक नैतिकतामा निर्भर रहने केही विज्ञहरूको धारणा छ।

एकजना विश्लेषक श्रीकृष्ण अनिरुद्ध गौतमले बीबीसीसँगको कुराकानीमा भने, “निर्वाचन हारेपछि मन्त्री पदबाट राजीनामा दिनुपर्ने बाध्यात्मक नियम छैन। राजीनामा दिने वा नदिने नितान्त व्यक्तिगत र राजनीतिक नैतिकताको विषय हो।”अहिले संसद्‌मा प्रधानमन्त्रीसहित कसैको पनि सदस्यता छैन र निर्वाचित भएकाहरू पनि शपथ खाएपछि मात्र सदस्य हुन्छन्।

त्यस्तो स्थितिमा पदमा रहेकाहरूले नै कार्यभार सम्हाल्न सक्ने उनी बताउँछन्। “उनीहरूको राजीनामा माग्नु उचित हुँदैन। कसैले नैतिकताको आधारमा राजीनामा दिए पनि प्रधानमन्त्रीले स्वीकृत नगर्न सक्छन्। पदमै केअर टेकरको रूपमा रहनु भन्न सक्छन्।”गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाड रुपन्देही क्षेत्र नम्बर ३ बाट सत्ता गठबन्धनका उम्मेदवार थिए।

उनी राप्रपाका दीपक बोहोरासँग पराजित भए। ऊर्जामन्त्री तथा माओवादी केन्द्रकी नेता पम्फा भुसाल ललितपुर क्षेत्र नम्बर ३ बाट उम्मेदवार थिइन्। उनी त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा . तोसिमा कार्कीसँग पराजित भइन्। युवा तथा खेलकुद मन्त्री महेश्वरराज गहतराज बाँके क्षेत्र नम्बर १ बाट उठेका थिए।

उनी एमालेका सूर्य ढकालसँग पराजित भए। खानेपानीमन्त्री उमाकान्त चौधरी बारा क्षेत्र नम्बर १ बाट उम्मेदवार थिए। उनलाई एमालेका अच्युतप्रसाद मैनालीले पराजित गरे। पर्यटनमन्त्री जीवनराम श्रेष्ठ काठमाण्डू क्षेत्र नम्बर ८ बाट उठेका थिए। त्यहाँ स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ विजयी भए।

जीवनराम भने तेस्रो स्थानमा रहे। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने राज्यमन्त्री उमेश श्रेष्ठ चितवन क्षेत्र नम्बर २ बाट उठेका थिए।उनी स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसँग पराजित भए। प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय हेर्ने राज्यमन्त्री उमेश श्रेष्ठ चितवन क्षेत्र नं २ का प्रत्यक्षतर्फ उम्मेदवार थिए।

राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेसँग पराजित भएका श्रेष्ठले आफूले राजीनामा दिँदा ठिक हुन्छ कि भनेर अन्य मन्त्रीहरूसँग छलफल गरे पनि “तत्काल प्रधानमन्त्रीलाई असहयोग नगर्ने” निचोडमा पुगेको जानकारी दिए। “मैले व्यक्तिगत निर्णय गरेको छैन। आपत्कालीन केही पर्‍यो भने आफ्नो भूमिका निर्वाह गर्छु किनकि यो केअर टेकर सरकार हो।

र पराजित अन्य मन्त्रीले राजीनामा दिए भने म पनि दिन्छु,” उनले भने। श्रेष्ठले आफूले सरकारबाट कुनै पनि किसिमको सेवा, सुविधा र तलब नलिएको र आफू कुनै पनि बेला पद छोड्न तयार रहेको बताए। हालसम्म भने नयाँ सरकार आउने बित्तिकै सामूहिक रूपमा जिम्मेवारी हस्तान्तरण गर्ने तयारी गरेको बताए।

अन्य देशहरूमा पनि निर्वाचनमा पराजित व्यक्ति मन्त्री वा अन्य उच्च पदमा रहिरहने वा पद त्याग गर्ने भन्ने विषयमा अन्योल रहेको विश्लेषक गौतमले बताए। अधिकांश मुलुकमा सम्बन्धित व्यक्तिले पराजयपछि राजीनामा दिने अभ्यास रहेको उनले बताए।“धेरै मुलुकमा हार्नेले राजीनामा दिने गर्छन्।

तर, नयाँ मानिस नआउन्जेल तपाईँ नै बस्नुस् भन्ने वा तत्काल स्वीकार गर्ने चलन पनि छ। यस्ता निर्णयहरू प्रधानमन्त्रीले चाल्ने कदममा निर्भर हुन्छ,“ उनले भने।यस्तो अभ्यासमा विश्वव्यापी एकरूपता नझल्कने कुरामा सहमति जनाउँछिन् राजनीतिशास्त्रकी प्राध्यापक मिना वैद्य मल्ल।

यद्यपि, उनले पराजित भएकाले “पदलाई च्यापिरहनु सान्दर्भिक नहुने” कुरामा जोड दिइन्।वैद्यले सम्बन्धित व्यक्तिको हारलाई “जनताले अस्वीकार गरेको” रूपमा बुझ्नुपर्ने बताइन्। अधिकांश जनताले स्वीकार नगरेको व्यक्तिले नैतिकताको आधारमा राजीनामा दिनु पर्ने उनको राय छ।

“उहाँहरूले पद छोड्नु पर्छ र यसलाई राजनीतिक नैतिकता भनिन्छ। राजनीतिमा नैतिकताको सवाल ठूलो कुरा हो र यो उहाँहरूले बुझिदिनु पर्छ। मतदाताले किन हराए भन्ने कुरा सोच्नु पर्छ। उनीहरूको मतको कदर गर्नुपर्छ।”मन्त्री पद नछोडे राजनीति गर्नेहरूले मतदाताले दिएको सन्देश आत्मसात् नगरेजस्तो देखिने उनले बताइन्।

राजीनामा व्यक्तिको निर्णयका आधारमा हुने भए पनि मन्त्री आबद्ध दलले पनि उनलाई पदबाट निस्कन प्रेरित गर्न सक्ने वैद्यको विचार छ।त्यसो गर्नाले दलहरूप्रति समेत आम मानिसको विश्वास बढ्ने र राम्रो सन्देश प्रवाह हुने उनले जिकिर गरिन्।“चुनावमा हारे पनि जनमतलाई दृष्टिगत गरेर काम गरे हरेक व्यक्ति र दलले फेरि उनीहरूको विश्वास जित्न सक्छन्। नत्र प्रश्न मात्र उठ्छ,“ उनले भनिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *