काठमाडौं। भिएआर प्रणाली लागु भएसँगै सन् २०१४ यताका विश्वकपमा धेरै पेनाल्टी भइरहेका छन्। कतारमा जारी विश्वकपमा पनि समूह चरण नसकिँदै रेफ्रीले १३ वटा पेनाल्टी दिइसकेका छन्। जसमध्ये ९ पेनाल्टी गोलमा परिणत भएका छन्।तर, ४ खेलाडी भने पेनाल्टीमा गोल गर्न सकेनन्।
तीमध्ये विश्वकै उत्कृष्ट मानिएका अर्जेन्टिनाका कप्तान लियोनल मेसीले समेत पेनाल्टी चुकाएका छन्।गएराति पोल्याण्डसँगको निर्णायक खेलमा उनको पेनाल्टी गोलकिपरले बचाएका थिए। मेसीले पेनाल्टीमा गोल गर्न नसक्नुका बाबजुद पनि अर्जेन्टिना समूह ‘सी’को विजेता बन्दै अन्तिम १६ मा पुगिसकेको छ।
यद्यपि, मेसीले साउदी अरेबियाविरुद्ध पाएको पेनाल्टी भने गोलमा परिणत गरेका थिए। यस्तै, पोल्याण्डका रोबर्ट लेवान्डोस्की, क्यानडाका अल्फान्सो डेभिस र साउदी अरेबियाका सलिम अल दलसारीले पनि पेनाल्टीमा गोल गर्न सकेनन्। पोल्याण्डमाथि सहज जित निकाल्दै अर्जेन्टिना फिफा विश्वकप २०२२ को प्रि–क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।
कतारको दोहामा रहेको स्टेडियम ९७४ मा बिहिबार बिहान भएको समूह ‘सी’ अन्तर्गतको आफ्नो अन्तिम खेलमा पोल्याण्डलाई २–० गोल अन्तरले हराउँदै अर्जेन्टिना विश्वकपको नकआउट चरणमा स्थान बनाउन सफल भएको हो । खेलको शुरुवात देखि नै पोल्याण्डमाथि दबाब राखेको अर्जेन्टिनाले पहिलो हाफमा पाएको पेनल्टीको अवसर खेर फालेको थियो ।
लियोनल मेस्सीले गरेको पेनल्टी प्रहारलाई पोल्याण्डका गोलकिपर सिजेस्नीले उत्कृष्ट बचाउँ गरेका थिए । खेलको ४६औं मिनटमा नाहुएल मोलीनाको असिस्टमा एलेक्सिसले गोल गर्दै अर्जेन्टिनालाई शुरुवाती अग्रता दिलाएका थिए ।६७औं मिनटमा इन्जो फर्नान्डेजको
असिस्टमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाएका थिए ।अर्जेन्टिनाले पहिलो हाफको तुलनामा आफ्नो खेललाई दोश्रो हाफमा थप आक्रमक बनाउँदै पोल्याण्डलाई दबाब थपेर खेलेको थियो ।दोश्रो हाफमा अर्जेन्टिनाले गोलको केही सुन्दर अवसरहरुमा चुक्दा २–० गोल अन्तरको जित दर्ता गर्याे ।
जितसँगै तिन खेलमा ६ अंक जोड्दै अर्जेन्टिना समूह विजेताको रुपमा राउण्ड अफ १६ मा प्रवेश गरेको हो । अर्जेन्टिनाले पहिलो खेलमा साउदी अरेबीयासँग हारको सामना गरेपछि लगातार दुई खेलमा जित्न सफल भयो ।