फ्रान्सलाई पराजित गरेपनि ट्युनिसिया विश्वकपबाट बाहिरियो

ByRocket Reporter

१४ मंसिर २०७९, बुधबार १७:१८ १४ मंसिर २०७९, बुधबार १७:१८ १४ मंसिर २०७९, बुधबार १७:१८

ट्युनिसियाले विश्वकप फुटबलको समूह ‘डी’ को आफ्नो अन्तिम खेलमा फ्रान्सलाई पराजित गरेको छ । तर फ्रान्सलाई १–० गोलले पराजित गरेपनि विश्वकप फुटबलबाट भने ट्युनिसिया बाहिरिएको छ ।एक खेलअघि नै नकआउट चरणमा प्रवेश गरिसकेको फ्रान्सविरुद्ध ट्युनिसियाले रोमाञ्चक जित निकालेको थियो ।

साविक विजेता फ्रान्स समूह विजेता बन्दै फिफा विश्वकप कतार २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ । समूह डी को अन्तिम खेलमा ट्युनिसियासँग १-० ले पराजित भएपनि फ्रान्स समूह विजेता बन्दै अघि बढेको हो ।नकआउट चरणमा स्थान बनाएको फ्रान्सले दोस्रो रोजाइका खेलाडीलाई अवसर दिएको थियो ।

ट्युनिसियाले यसको फाइदा उठाउँदै पहिलो हाफमा फ्रान्सलाई जम्न दिएन । ट्युनिसियालाई सुरुवातमै भीएआरले गोललाई मान्यता नदिएपछि टोली थप आक्रामक बनेको थियो । फ्रान्सले भने कमजोर प्रदर्शन गर्यो ।दोस्रो हाफमा ट्युनिसियाले अग्रता लियो । कप्तान वाह्बी खाज्रीले कमजोर डिफेन्स र गोलरक्षकको फाइदा उठाउँदै अग्रता दिलाए ।

त्यसपछि फ्रान्सले लगातार खेलाडी परिवर्तन गर्दै स्टार खेलाडी उतारेपनि खेल बदल्न सकेन । फ्रान्स हारका बाबजुद समूह विजेता बन्दा ट्युनिसिया जितेर पनि समूहको तेस्रो स्थानमा रहँदै समूह चरणबाट बाहिरियो ।खेलको नवौं मिनेटमा नै ट्युनिसियाले अग्रता लिएपनि उक्त गोल कायम रहेन ।

फ्रिकिकमा घान्द्रीले हेडरमार्फत गोल गरेपनि भिडियो असिस्टेन्ट रेफ्रीले उक्त सेट पिसमा अफसाइड भएको देखाएको थियो । २५ औं मिनेटमा फ्रान्सले अग्रता लिने अवसर सदुपयोग गर्न सकेन । युसुफ फोफानाको पासमा किंग्सले कोमानले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार पोस्टभन्दा बाहिर गएको थियो ।

दोस्रो हाफको ५८ औं मिनेटमा ट्युनिसियाले फ्रान्सको कमजोर डिफेन्सको फाइदा उठाउँदै अग्रता लियो । मिडफिल्डमा बल खोसेको ट्युनिसियाका लागि कप्तान वाह्बी खाज्रीले बललाई एक्लै अघि बढाउँदै पेनाल्टी क्षेत्र भित्रबाट फिनिस गरे । उनको फितलो प्रहार दोस्रो रोजाइका गोलरक्षक स्टिभ मान्डान्डाले जोगाउन सकेनन् ।

दोस्रो हाफमा गोल खाएपछि फ्रान्सले पहिलो रोजाइका खेलाडीलाई मैदान पठाएको थियो । किलीयन एमबाप्पे, एन्टोइन ग्रिजमन र ओस्मान डेम्बेले मैदान छिरेपनि फ्रान्स गोल फर्काउन असफल रहयो । इन्ज्युरी समयमा ग्रिजमनले गोल गरेपनि भीएआरले त्यसलाई गोलको मान्यता दिएन ।

जितका बाबजुद ट्युनिसिया नकआउट चरणमा भने पुग्न सकेन । अर्को खेलमा अष्ट्रेलियाले डेनमार्कलाई हराएपछि ट्युनिसिया समूह चरणबाट बाहिरियो । फ्रान्स भने हारका बाबजुद समूह विजेता बन्न सफल रहयो ।फ्रान्स र अष्ट्रेलियाले ३ खेलमा २ जित र १ हारसहित ६ अंक जोडे ।

फ्रान्स गोल अन्तरमा अघि रहेर समूह विजेता बन्यो । ट्युनिसिया ३ खेलमा ४ अंक जोडेपनि समूहको तेस्रो स्थानमा सिमित रहेर प्रतियोगिताबाट बाहिरियो । डेनमार्क १ अंकसहित पुछारमा रहयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *