‘समाजमा स्थान पाउन नसकेका एजेण्डालाई सञ्चारमाध्यमले आकार दिन सक्नुपर्छ’

ByRocket Reporter

१४ मंसिर २०७९, बुधबार १४:४५ १४ मंसिर २०७९, बुधबार १४:४५ १४ मंसिर २०७९, बुधबार १४:४५

सरोकारवालाहरुले समाजका हरेक घटनाहरुलाई सामूहिक एजेण्डा बनाएर समस्याको सम्बोधन गर्न राज्यलाई दबाब दिनुपर्नेमा जोड दिएका छन् ।

समाजबाट बाहिर आउन नसकेका विषयवस्तुको उठान गरी त्यसलाई सामुहिक एजेण्डा बनाएर सरकारलाई दबाब दिन सकेमात्रै समाजका घटनाहरुको सम्बोधन हुने बताएका हुन् ।

सञ्चारमाध्यमहरुको भूमिका एकतर्फी हुन नदिन सञ्चारमाध्यमहरुले समाजका घटनाहरुलाई आफ्नै घटना सम्झिएर विषयवस्तुको उठान गर्न सक्नुपर्ने बताए । उनीहरुले मिडिया साक्षरताका बारेमा उपभोक्ताहरुलाई बुझाउन जरुरी रहेको पनि बताए । मिडियलाई लैङ्गिक, उत्तरदायी र जिम्मेवारी बनाउन हरेकको भूमिका महत्वपूर्ण हुने भन्दै लैङ्गिक, संवेदनशील मिडिया नीति, निर्माण र कार्यान्वयनमा लाग्न जरुरी भएको सरोकारवालाहरुको भनाइ छ ।

बुधवार प्रेस काउन्सिल नेपालले १६ दिने महिला हिंसाविरुद्धको अभियानको अवसरमा अयोजना गरेको लैङ्गिक दृष्टिकोणबाट सञ्चारमाध्यमको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले समाजमा स्थान पाउन नसकेका एजेण्डाहरुलाई सञ्चारमाध्यमहरुले आकार दिन सक्नु नै सञ्चारमाध्यमको काम भएको बताए । उनले छायामा परेका घटनाहरुलाई सञ्चारमाध्यमले सामूहिक विषय बनाएर सरकारलाई न्याय गराउन बाध्य बनाउनु सञ्चारमाध्यमको काम भएको बताए ।

उनले राज्यले उपस्थित नभइकन दबाएका समाजका घटनाहरुको उजागर गरी सरकारलाई दबाब सिर्जना गर्नसके मात्रै सञ्चारमाध्यमले आफ्नो धर्म र दायित्व पूरा गर्ने बताए । अध्यक्ष पोख्रेलले समाजमा आकार नपाएका घटनालाई विशेष स्थान दिने र एजेण्डाहरुलाई टुक्र्याएर राख्ने नभइ सामुहिक एजेण्डा बनाउनुपर्नेमा जोड दिए ।

सञ्चारमाध्यमको सबैभन्दा ठूलो न्यायाधिश भनेकै उपभोक्तहरु भएकाले समाजालई सचेत गराउनु नै सञ्चारमाध्यमको धर्म भएको बताए । उनले प्रतिक्रियाबिनाको मिडिया एकाङ्की हुने भएकाले जनतालाई सचेत बनाएर सही र गलत छुट्याउन सक्ने बनाउनु आवश्यक रहेको बताए ।

त्यस्तै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारितासम्बन्धी कानून बनाउने मात्रै नभइ व्यवहारमा समेत लागू गर्न आवश्यक भइसकेको बताए । उनले प्रेस काउन्सिल अहिले भइरहेका कानून कार्यान्वयनको लागि लागिपरेको भन्दै थप कानून बनाउन र नीति निर्माणलाई परिमार्जन गरेर समय सापेक्ष बनाउनको लागि अग्रसर भएको बताए ।

अध्यक्ष बस्नेतले काउन्सिलको मुख्य काम राज्यलाई नीति निर्माणमा सहयोग गर्न र सुझाव दिने रहेको बताए । उ(नले काउन्सिलले लैङ्गिकमैत्री पत्रकारिता निर्माण गर्न खोजेको भन्दै पत्रकारिता आफैँ लैङ्गिकमैत्री समानताको पक्षधर भयो भने मात्रै समाजमा सही सूचना सम्प्रेषण गर्न सकिने बताए । उनले अहिले भएको महिला सञ्चार निर्देशिकालाई टेकेर नै काउन्सिलले सञ्चारमाध्यमहरुको अनुगमन गरिरहेको बताए ।

कार्यक्रममा सञ्चारकर्मी कृष्णा पौडेलले मिडियामा आएका सामाचार सामाग्री लैङ्गिक संवेदजशील भए÷नभएको बारे नियामक निकायले कडा अनुगमन गर्नुपर्नेमा जोड दिइन् । उनले महिलाहरुलाई नेतृत्व तहमा पु¥याउने कुरामा अझैपनि कन्जुस्याँइ हुने गरेको भन्दै नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल नेपाल लगायतका सम्बन्धित संघसंस्थाहरुले यस्ता त्रुटिहरुमा खबरदारी गर्न आवश्यक रहेको बताइन् ।

उनले सञ्चारमाध्यमलाई कसरी लैङ्गिकमैत्री बनाउने भन्ने कुरामा सोच्न जरुरी रहेको बताइन् । त्यस्तै अर्की सञ्चारकर्मी नितु पण्डितले आगामी समयमा सञ्चारजगत लैङ्गिक हिसावमा छिटो अघि बढ्नेगरी नीति निर्माण हुन जरुरी रहेको बताइन् ।

 


(Source: Pardafas)

Leave a Reply

Your email address will not be published. Required fields are marked *