दाया खुट्टामा बोकेको चोटका कारण साउदी अरेबियाका कप्तान तथा मिडफिल्डर सलमान अल फराजले फिफा विश्वकप कतार २०२२ का बाँकी खेल गुमाउने भएका छन् ।समूह ‘सी’ मा रहेको साउदी अरेबियाले पहिलो खेलमा उपाधि दाबेदार मानिएको अर्जेन्टिनालाई २–१ ले स्तब्ध पारेपनि दोस्रो खेलमा पोल्यान्डलाई २–० ले नतिजा सुम्पिएको थियो ।
अर्जेन्टिनाविरुद्धको त्यही पहिलो र ऐतिहासिक जित निकालेको खेलमा कप्तान फराजले चोट बोकेका थिए । चोटकै कारण फराजले पोल्यान्डविरुद्धको खेल समेत गुमाएका थिए ।साउदीका प्रशिक्षक हर्भ रेनार्डले टोलीका कप्तान तथा मिडफिल्डर सलमानलाई उपचारका लागि टोली छाड्न अनुमति दिइसकेका छन् ।
प्रारम्भिक स्वास्थ्य परिक्षणमा दायाँ खुट्टाको हड्डीमा चोट लागेको देखिएको छ । सन् २०१२ देखि साउदीको टोलीमा रहेका ३३ वर्षीय फराजले ७१ क्याप जित्दा ८ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।यस्तै साउदीका डिफेन्डर यासेर अल शहरानी पनि चोटकै कारण बाहिरिएका छन् ।
अर्जेन्टिनाविरुद्धको खेलको अन्तिम मिनेटमा उनले गम्भीर चोट बोकेका थिए । उनलाई बुधबारै आकस्मिक शल्यक्रियाका लागि लगिसकेको छ । आफ्नै गोलरक्षक मोहम्मद अल ओवेससँग ठोक्किन पुग्दा उनले गम्भीर चोट बोकेका थिए । उनको बंगरा र अनुहारको हड्डी भाँचिएको र दाँतमा चोटसँगै रक्तश्राव भएको बताइएको छ ।
दुई खेलबाट ३ अंक जोडेको साउदी अरेबियाको समूह चरण पार गर्ने सम्भावना जीवितै छ । साउदीले आज बुधबार समूह चरणको अन्तिम खेलमा मेक्सिकोसँग खेल्दैछ । यस खेलमा जित निकाल्न सके र अर्काे खेलमा अर्जेन्टिनाले हार बेहोरे साउदी नकआउट चरणमा पुग्नेछ ।
तर, यि खेलमा कप्तान फराजसँगै डिफेन्डर यासेर अल शहरानी हुने छैनन् । यि दुई खेलाडीको अभाव टोलीलाई खड्कनेछ । शीर्ष स्थानको पोल्यान्डको ४ तथा दोस्रो स्थानको अर्जेन्टिनाको ३ अंक छ । मेक्सिकोको १ अंक छ ।