प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार कलाकारलाई बालुवाटारमा बोलाएर चुनावको सन्दर्भमा कुराकानी गरे । चुनावलाई सफल बनाउन कलाकारको भूमिका महत्वपूर्ण हुने बताए ।
अन्तरक्रियामा प्रधानमन्त्री पत्नी आरजु राणा पनि सहभागी थिइन् । त्यस अवसरमा फिल्म र संगीत क्षेत्रको वर्तमान अवस्थाबारे पनि छलफल भयो ।
कार्यक्रममा पछिल्लो समयकी चर्चित गायिका एलिना चौहान पनि सहभागी थिइन् । एलिनाले प्रधानमन्त्रीसँग फोटो खिचेर सामाजिक सञ्जालमा राखिन् ।
कलाकारहरु चलुञ्जेल नेपालमा बस्छन् र चलिसकेपछि भविष्य नै छैन । कलाकारको बारेमा सोचिदिने मैले कांग्रेस मात्र पाएँ
तर उक्त तस्वीरलाई लिएर आफूले खुबै गाली खाएको एलिना बताउँछिन् । उनी भन्छिन्, ‘म कुनै पार्टी र चुनावको भन्दा पनि देशको प्रधानमन्त्रीले बोलाएर गएकी थिएँ । त्यो खुसीमा मैले फोटो खिचेर हाल्दा धेरै गाली पनि खाएँ । प्रधानमन्त्री र आरजु म्यामले सिधै हामीसँग कुरा गर्नुभयो । आरजु म्यामको बारेमा बाहिर जति पनि कुरा सुनेको थिएँ, उहाँलाई भेटेपछि ती सबै कुरा गलत रहेछ भन्ने लाग्यो ।’
कांग्रेसलाई भोट दिने निर्णय गरेको भन्दै उनले भनिन्, ‘कलाकारको बारेमा अहिलेसम्म कसैले पनि सोच्दिनुभएको थिएन । किनभने कलाकारहरु चलुञ्जेल नेपालमा बस्छन् र चलिसकेपछि भविष्य नै छैन । कलाकारको बारेमा सोचिदिने मैले कांग्रेस मात्र पाएँ । त्यसपछि आफ्नो भोट नेपाली कांग्रेसलाई दिने निर्णय गरें ।’