काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाहले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीलाई ‘कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्न’ चेतावनी दिएका छन्। सुकुम्वासी वस्तीमा महानगरले तमासा गरेको अभिव्यक्ति दिएपछि बालेले ओलीलाई यस्तो चेतावनी दिएका हुन्।
आज आयोजित एक कार्यक्रममा ओलीले सुकुम्वासी समस्या समाधान आयोग गठन भएर काम थालिसकेको अवस्थामा महानगरले नदी छेउमा बसेकाहरुलाई हटाउन डोजर लिएर जानु उचित नभएको र यो तमासा भएको बताएका थिए । महानगरले थापाथली स्थित सुकुम्वासी वस्ती हटाउन सोमबार डोजर लिएर गएको थियो ।
तर त्यहाँ झ’ डप भएपछि महानगरको टोली फर्किएको थियो । यसैलाई ओलीले तमासा भनेका थिए ।जवाफमा बालेनले ओलीलाई सकेको सहयोग गर्न तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्न आग्रह गरेका हुन् । ओली २ पटक प्रधानमन्त्री हुँदा समेत सुकुम्वासी समस्या समाधान गर्नको लागि केहि नगरेको आरोप बालेनले लगाएका छन्।
यस्तो छ बालेनले ओलीलाई दिएको जवाफ जस्ताको तस्तै : ‘सम्माननीय पुर्वप्रधानमन्त्री केपी ओलीज्यू, अधिकारसम्पन्न बागमती सभ्यताको आग्रह र समन्वयमा काठमाण्डौ महानगरले आफ्नो जिम्मेवारी पुरा गर्दै गरेको कार्यप्रति तपाईको धारणा थाहा पाएँ । तपाईबाट नै यस्तो धारणा आउनु सामान्य बिषय हो ।
किनभने, २०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाण्डौको सुकुम्वासी समस्या समाधान गर्न सक्नु भएन । मन्त्री र पटक पटक त्यो पनि दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनु भयो तर सुकुम्वासीले भोगेको ३२ वटा जाडो देख्नु भएन ।सुकुम्वासीहरु तपाईका लागि भोट बैंक मात्रै रहे ।
बरु तिनलाई गुठी आ’ न्दोलन जस्ता आफ्नो स्वार्थ विपरितका कुराहरुमा प्रयोग गर्नु भयो । त्यो पनि राजनीतिक स्वार्थवश् । तपाईलाई जनता, नदीनाला र नेवा सभ्यताको त्यत्रो माया भएको भए तपाईको नेतृत्वमा लुँहिटी (सुनधारा) सक्काएर सेतो टावर किन ठड्याउनु भयो ? हुनमान ढोकाको पुनर्निर्माणमा नेवा सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई कसरी अगाडी बढाउनु भयो ?
यी सबै हेर्दा नेवा सभ्यता जोगाउने, नदिक्षेत्रको अतिक्रमण रोक्ने कार्यको तपाईले बिरोध गर्नु असामान्य होइन ।तर अब परिस्थिति फेरिएको छ । यसैले सकेको सहयोग गर्नुहोला तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला ।’