पटक पटक प्रधानमन्त्री भएको बेला सुकुम्वासीले भोगेको ३२ जाडो देख्नुभएन ? – Saja Khabar

ByRocket Reporter

१३ मंसिर २०७९, मंगलवार १४:०० १३ मंसिर २०७९, मंगलवार १४:०० १३ मंसिर २०७९, मंगलवार १४:००

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सुकुम्वासी समस्याको विषयमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको धारणाबारे जवाफी प्रश्न तेर्स्याएका छन् । उनले सामाजिक सञ्जालमार्फत ओलीलाई विभिन्न प्रश्न गरेका छन् ।

मंगलबार एमाले केन्द्रीय कार्यालयको एक कार्यक्रममा ओलीले सुकुम्वासीमाथि राज्यले आतंक फैलाएको टिप्पणी गरेका थिए । जसको जवाफमा बालेनले ओलीलाई आफू दुईतिहाइको सरकारको प्रधानमन्त्री भएको बेलासमेत गरी ३२ जाडोमा समस्या किन नदेखेको भन्दै प्रश्न गरेका छन् ।

उनले सुकुम्वासीहरु ओलीका लागि भोटमात्रै भएको टिप्पणी गरेका छन् । बालेनले सुकुम्वासीलाई ओलीले गुठी विधेयक जस्ता आन्दोलनमासमेत प्रयोग गरेको आरोप लगाए ।उनले भनेका छन् – सम्माननीय पुर्वप्रधानमन्त्री केपी ओलीज्यू, अधिकारसम्पन्न बागमती सभ्यताको आग्रह र समन्वयमा काठमाण्डौ महानगरले आफ्नो जिम्मेवारी पुरा गर्दै गरेको कार्यप्रति तपाईको धारणा थाहा पाएँ ।

तपाईबाट नै यस्तो धारणा आउनु सामान्य बिषय हो । किनभने, २०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाण्डौको सुकुम्वासी समस्या समाधान गर्न सक्नु भएन । मन्त्री र पटक पटक त्यो पनि दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनु भयो तर सुकुम्वासीले भोगेको ३२ वटा जाडो देख्नु भएन ।

सुकुम्वासीहरु तपाईका लागि भोट बैंक मात्रै रहे । बरु तिनलाई गुठी आन्दोलन जस्ता आफ्नो स्वार्थ विपरितका कुराहरुमा प्रयोग गर्नु भयो । त्यो पनि राजनीतिक स्वार्थवश् । तपाईलाई जनता, नदीनाला र नेवा सभ्यताको त्यत्रो माया भएको भए तपाईको नेतृत्वमा लुँहिटी (सुनधारा) सक्काएर सेतो टावर किन ठड्याउनु भयो ?

हुनमान ढोकाको पुनर्निर्माणमा नेवा सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई कसरी अगाडी बढाउनु भयो ? यी सबै हेर्दा नेवा सभ्यता जोगाउने, नदिक्षेत्रको अतिक्रमण रोक्ने कार्यको तपाईले बिरोध गर्नु असामान्य होइन । तर अब परिस्थिति फेरिएको छ । यसैले सकेको सहयोग गर्नुहोला तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *