क्युबाको खोप क्रान्ति जसलाई विश्वले थाहै पाएन – Health Post Nepal

 

काठमाडौं–सन् १९५३ देखि चलेको क्युबाली क्रान्तिका क्रममा १९५८ मा सैनिक तानाशाह बाटिस्टालाई अपदस्थ गरियो। त्यसयता क्युबामा अन्य थुप्रै क्रान्ति भए। तर यसपटक यो सानो मुलुकले सबैभन्दा शान्त र सबैभन्दा आश्चर्यजनक क्रान्ति सफल बनाएको छ।

विगतका दशकमा यो मुलुकले सार्वजनिक स्वास्थ्य, अन्तर्राष्ट्रिय चिकित्सा सेवा र बायोटेक्नोलोजी क्षेत्रमा क्रान्ति गर्दै आयो।

त्यहीक्रममा यो दुई वर्षको बीचमा क्युबाले कोभिडविरुद्धका ५ प्रकारका खोप विकास गर्‍यो। यो उपलब्धीलाई अद्वितिय मानिएको छ। तीमध्ये ४ प्रकारका खोप मुलुकका ९३ प्रतिशत जनसंख्यालाई लगाइएको छ।

तर अन्तर्राष्ट्रिय तथा पश्चिमा सञ्चारमाध्यमले यसलाई ध्यान दिएनन् या प्राथमिकता दिएनन्। उनीहरु फाइजर र मर्डनाजस्ता कम्पनीले बनाएका नयाँ तथा महंगा एमआरएनए खोपकै बहसमा केन्द्रित भए। उनीहरुका मालिकका स्तुतिगान गर्न व्यस्त भए।

तर, सबैभन्दा पहिले साइन्स जर्नल नेचर पत्रिकाको नजर क्युबाको सेन्टर फर जेनेटिक इन्जिनियरिङ एण्ड बायोटेक्नोलोजी र फिन्ले इन्सिच्युट अफ भ्याक्सिनको सफलतामा पर्‍यो।

२०२१ को मध्यमा केही समाचार संस्थाहरुले हवानाबाट प्राप्त सकारात्मक समाचारलाई प्रकाशित गर्न थाले। क्युबाले केही मुलुकमा खोप पठाएपछि यसमा चासो अझ बढ्न थाल्यो।

क्यारेबियन मुलुक कोभिड महामारीको चपेटामा परेका बेला क्युबाको स्वतन्त्रताको भावना एकपटक फेरि उचाइमा पुग्यो, जो अमेरिकाले ६ दशकदेखि लगाउँदै आएको व्यापार प्रतिबन्धका क्रममा प्रकट भएको थियो।

ल्याटिन अमेरिका, अफ्रिका र एशियाका निम्न आय भएका मुलुकले खोपका लागि धनी मुलुकमा निर्भर रहनुको अर्थ थियो–एउटा लामो पखाई, जो सम्भवतः व्यर्थ पनि हुन्थ्यो।

आफ्नै बलबुतामा महामारीमा लड्ने क्युबाको निर्णय खासगरी क्युबाभन्दा १० गुणा बढी वैज्ञानिक जनशक्ति र अनुसन्धानका लागि चुनौती हो। क्युबाले एक शानदार स्वास्थ्य जैवप्रौद्योगिकी क्षेत्रको स्थापना गरेको छ, जसलाई पूरै विश्वले सम्मान गरेको छ।

आफ्नै बलबुता र प्रतिभाको प्रयोग गर्दै आफैँले खोप विकास गर्ने निर्णय गरेर हवानाले आफ्नो गम्भीर आर्थिक संकटलाई किनारा लगाउन संकल्प गर्‍यो। तीव्र रुपमा फैलँदै गरेको कोभिडविरुद्ध तत्काल कदम उठाउनु थियो। यसैले कैयौं महत्वपूर्ण अनुसन्धान परियोजनालाई स्थगित गरियो। एक वर्षसम्म भएका प्रयास शानदार रुपमा सफल भयो। १ करोड १३ लाख जनसंख्या भएको क्युबाले ५ वटा कोभिड खोप विकास गरेर विश्वलाई देखायो।

क्युबाले आफ्ना ५ प्रकारका खोपमध्ये ४ खोपका ३–३ डोज दिएर ९० प्रतिशतभन्दा बढी जनसंख्यालाई कोभिडबाट सुरक्षा दिन सफल भयो। क्युबाले संयुक्त अरब इमिरेट्स र पोर्चुगललाई छाडेर खोपमा बाँकी मुलुकलाई पछाडि पार्‍यो।

‘आवर वर्ल्ड इन डेटा’ मा गत जनवरीसम्म उपलब्ध तथ्यांकअनुसार क्युबाका ८६.५४ नागरिकलाई तीन डोज दिइसकिएको थियो। अन्य ७ प्रतिशतले कुनै न कुनै डोज लगाएका थिए।

ग्लास्गो विश्वविद्यालयका प्राज्ञ एवं क्युबाका विशेषज्ञ हेलेन याफ यसलाई अविश्वसनीय उपलब्धी भन्छन्। यस्तै, ल्याटिन अमेरिकी विशेषज्ञ एवं नोभा स्कासास्थित डलहौजी विश्वविद्यालयका जोन किर्क भन्छन्, ‘आफैं खोप बनाएर ९० प्रतिशतभन्दा बढी मानिसलाई खोप लगाउने दुस्साहस क्युबाजस्तो सानो मुलुकका लागि असाधारण हो।’

तर, क्युबाको ट्र्याक रेकर्ड हेर्दा यो त्यति आश्चर्यजनक कुरा होइन। सन् १९८० को दशकदेखि नै क्युबाको बायो फार्मा इन्नोभेसनले हेपाटाइटिस, पोलियो, मेनिन्जाइटिस बी आदि ज्यानमारा रोगको सामना गर्न कम लागतका औषधि अनुसन्धानका लागि प्रयास गरिरहेको छ। यसका साथै आफूसरहका तेस्रो विश्वलाई आफ्नो अनुसन्धानका अनुभवहरु बाँड्न तत्पर रहन्छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) प्रविधि हस्तान्तरणमा क्युबालाई एक अगुवाका रुपमा प्रशंसा गर्छ। निम्न आय भएका मुलुकलाई आफ्नो बायोटेक क्षमताको विकास गर्न, उनीहरुलाई प्रविधि सहयोग गर्न र मेनिन्जाइटिस बी र हेपाटाइटिस बीजस्ता रोगको सामना गर्न कम लागतका जीनवरक्षक औषधिसम्मको पहुँचको सुविधाका लागि सहयोग गर्छ।

क्युबाका ५ खोपमध्ये अब्दला नामक खोप प्रोटिनमा आधारित छ भने बाँकी सोबरना सिरिजअन्तर्गत पर्छ। डब्लुएचओबाट खोपको स्वीकृति पाउने पखाईका बीच भेनेजुयला, निकारागुवा, इरान र भियतनाममा आपूर्ति गरिसकिएको छ।

यसैबीच, फिन्ले इन्सिच्युटले पाश्चर इन्सिच्युटसँग मिलेर तेहरानमा २४ हजार मानिसमा क्लिनिकल ट्रायल गर्न महत्वपूर्ण सम्झौता गरेको छ। यसको परिणाम चाँडै थाहा हुनेछ। विश्वभरका लागि यी खोप पुर्‍याउन एउटैमात्र समस्या छ, त्यो हो क्युबाको सीमित उत्पादन। फिन्ले इन्सिच्युटमा हरेक महिना सोभरना ०२ खोपको १ करोड डोज उत्पादन गर्छ। तर विश्वमा खासगरी अफ्रिकामा खोपको अभाव चरम अवस्थामा छ।

क्युबाबारे अध्ययन गरिरहेका याफजस्ता विशेषज्ञको विश्वास छ–यो सानो मुलुकमा विकास गरिएको खोप आगामी वर्षका लागि उत्कृष्ट आशा हो।

(Source: Healthpost Nepal)

Leave a Reply

Your email address will not be published.